कार्ड बाँडिसकेपछि रोकिएको थियो सलमानको बिहे

मुम्बई– बलिउडका ‘दबंग’ सलमान खान आफ्नो फिल्म र अभिनयबारे जति चर्चामा छन्, त्यति धेरै उनका फ्यानहरू उनको विवाहबारे जान्नका लागि पर्खिरहेका हुन्छन्। ‘सलमान खान तपाईं कहिले बिहे गर्नुहुन्छ’ प्रश्नले सलमानलाई मिडिया र फ्यानले घेरिरहन्छन्। तर उनी हरेक पटक यस्तो प्रश्नबाट टाढिहाल्छन्।

हालसालै फिल्म निर्माता साजिद नाडियाडवालाले सलमान खानको बिहेबारे खुलासा गरेका छन्। हाल चर्चित बनिरहेको ‘द कपिल शर्मा सो’ कार्यक्रमको एक भिडिओमा फिल्म निर्माता तथा सलमानका साथी साजिद नाडियाडवाले सलमानको बिहेबारे खुलासा गरेका छन्। उनले कपिलले सलमानको बिहेबारे प्रश्न गरेपछि उक्त खुलासा गरेका हुन्।

साजिदका अनुसार सलमान खान सन् १९९९ मा बिहेका लागि पूर्णरूपमा तयार थिए। बिहे कार्ड पनि बाँडिसकिएको थियो। तर, बिहे हुनु ६ दिनअघि सलमानले बिहे गर्न अस्वीकार गरिदिए।

साजिदको भने सोही वर्ष बिहे भएको थियो।

सलमानले बिहे गर्न किन अस्वीकार गरे भन्नेबार‍े भने साजिदले थप केही बताएनन्। तर, उनका फ्यानहरूको नजरबाट हेर्ने हो भने अर्कै कथा पनि हुनसक्ने अनुमान लगाइएको छ।

सोही वर्ष सलमान र ऐश्वर्या रायको फिल्म ‘हम दिल दे चुके सनम’ रिलिज भएको थियो। फिल्मपछि सलमान र ऐश्वर्याको सम्बन्ध चर्चाको चुलीमा थियो। तर, सलमान खानको बिहेको लागि छापिएको कार्डमा ऐश्वर्या रायको नाम लेखिएको थियो वा अरु कसैको भन्ने अझै रहस्यमा नै छ।

प्रतिक्रिया दिनुहोस्