उच्च रक्तचाप छ ? यसो गर्नुस्

काठमाडौं– कुनै बेला बुढापाकालाई मात्र हुने समस्या भनिन्थ्यो– उच्च रक्तचाप। बुढ्यौलीले छोएपछि शारीरिक सक्रियता घट्दा चिन्ता बढ्न थाल्छ। यसैले बुढ्यौलीमा रगतको चाप बढ्छ। तर, अहिले युवावयमै उच्च रक्तचापले सताउन थालेको छ।

यसो हुनुको कारण हो– जीवनशैली। अनियमित दैनिकी, अस्वस्थ्यकर खानपानलगायत कारणले उच्च रक्तचापको समस्या बढ्दो छ। धेरैजसोलाई भने खराब जीवनशैलीकै कारण उच्च रक्तचाप हुने गरेको चिकित्सक बताउँछन्। उच्च रक्तचाप भएपछि जीवनशैली परिवर्तन गर्नुपर्ने उनीहरूको भनाइ छ।

नुनको मात्रा कम

हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ। यसको मात्रा घटाउनुपर्छ। नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो।

प्रशोधित खानेकुरा निषेध

अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन्। त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ। प्याकिङ गरिएका वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन्।

सन्तुलित भोजन

उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनैपर्छ। यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ। दिनभर खाइने खानामा ती सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ।

फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ। मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौं। सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं। चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं। रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ।

खानामा फाइबरको मात्रा बढाउनुपर्छ। फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन। तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ। तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ। सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ। यसमा फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ।

धेरैजसोको खानामा ओमेगा थ्री फ्याटी एसिड (फिस आयल)को मात्रा कम हुन्छ। यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ। यद्यपि माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ। त्यसो त ओमेगा थ्री फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ। यद्यपि यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ।

उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटासियमको मात्रा पनि बढाउनुपर्छ। धेरै मात्रामा पोटासियमचाहिँ हानिकारक हुन सक्छ। त्यसैले सन्तुलित मात्रामा पोटासियम लिनुपर्छ। गोलभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटासियम पाइन्छ।

चिकित्सकको परामर्श

कतिपय घरेलु औषधि जो हाम्रो भान्सामा पाइन्छ। त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ। यदि त्यस्ता औषधिको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुंगो गर्नुपर्छ।

योग-ध्यान-प्राणायम

तनाव कम गर्नु गाह्रो लाग्न सक्छ। किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ। तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो। तनाव हरेकलाई हुन्छ। तर, त्यसलाई कसरी लिने ? यो मुख्य कुरा हो। हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं। तर, तनाव लिनु कुनै समस्याको समाधान होइन। तनाव लिएर कुनै समस्या हल हुँदैन। त्यसो भए किन तनाव लिने ?

कुनै पनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ। काम गरेको बेला रमाइलो गरौं। शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधि छन्। त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ। प्राणायाम, ध्यान यस्तो विधि हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ। यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ। प्रफुल्ल बनाउँछ।

लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो। त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं। जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न। बरु बिहान एक घण्टा छिटो–छिटो पैदल हिँड्ने बानी गरौं।

प्रतिक्रिया दिनुहोस्