सदर चिडियाखाना जान यस्तो छ नियम

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि बन्द गरिएको ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना आज (बिहीबार)बाट खुल्ने भएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी चिडियाखाना खुल्ने भएको हो।

यस्तो छ प्रवेशको नियम

चिडियाखाना प्रवेश गर्ने व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने छन्। प्रवेश गर्नेले मास्क अनिवार्य लगाउनुपर्ने छ। यस्तै, चिडियाखानाभित्र बसेर खान तथा वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन।

चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको छ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ७ गतेदेखि चिडियाखाना अवलोकनका लागि बन्द गरिएको थियो।

हाल चिडियाखानामा एक हजार ६८ वन्यजन्तु छन्।

प्रतिक्रिया दिनुहोस्