नेपाल प्रहरीका दुई एसपीसहित तीन जना निलम्बन

काठमाडौं– नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी)सहित तीन जना निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतसहित प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसिया निलम्बनमा परेका हुन्।

अनियमितता गरेको उजुरीका आधारमा एसपीद्वयलाई कारवाही गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुमाथि प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतले अनियमितता गरेको उजुरी परेको छ।

गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि प्रहरी निरीक्षक चौरसिया निलम्बनमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ। उनीहरुलाई बढीमा ६ महिनाको लागि निलम्बन गरेको बुझिएको छ। 

यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा कार्यरत छन् भने बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। यस्तै, चौरसिया सिन्धुलीको इलाका प्रहरी कार्यालय, कपिलकोटमा कार्यरत छन्।

यसैबीच, प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको छ। रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्