अस्ट्रेलियाविरुद्धको तेस्रो वनडेमा भारत १३ रनले विजयी

काठमाडौं– अस्ट्रेलियाविरुद्धको एकदिवसीय (वनडे) क्रिकेट शृंखलाअन्तर्गत तेस्रो खेलमा भारत १३ रनले विजयी भएको छ।

क्यानबेरामा आज (बुधबार) भएको खेलमा ३०३ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया निर्धारित ४९.३ ओभरमा २८९ रनमा अलआउट भयो। उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७५ रन जोडे। यस्तै, ग्लेन म्याक्सवेलले ५९ रन बनाउँदा एलेक्स केरीले ३८ रन जोडे।

बलिङमा भारतका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। यस्तै, जसप्रित बुमराह र टि नटराजनले समान २ विकेट चट्काए। कुलदीप यादव र रविन्द्र जडेजाको नाममा समान १ विकेट रह्यो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो। उसका लागि हार्दिक पाण्ड्या ९२ र रविन्द्र जडेजा ६६ रनमा अविजित रहेका थिए। यस्तै, विराट कोहलीले ६३ रन बनाउँदा शुभमान गिलले ३३ रनको योगदान दिएका थिए।

बलिङमा अस्ट्रेलियाका एस्टोन अगारले सर्वाधिक २ विकेट लिएका थिए। यस्तै, एडम जम्पा, जोश हेजलवुड र सिन एबोटले समान १ विकेट चट्काएका थिए।

जितपछि पनि भारतले तीन खेलको एवदिवसीय क्रिकेट शृंखला १-२ ले गुमाएको छ। यसअघि भारत पहिलो वनडेमा ६६ र दोस्रोमा ५१ रनले पराजित भएको थियो।

क्रिकइन्फो डट कम

प्रतिक्रिया दिनुहोस्