चौमालाका समाजसेवी दीपबहादुर चन्दको सम्झनामा मन्दिर

धनगढी– चौमालामा माध्यमिक तहको शिक्षा सञ्चालनमा योगदान पुर्याउने स्वर्गीय दीपबहादुर चन्दको सम्झनामा मन्दिर निर्माण गरिने भएको छ।

उनका छोरा–बुहारी चक्रबहादुर र सुशीलाले चौमाला बहुमुखी क्याम्पसको प्रांगणमा मन्दिरको शिलान्यास गरेका हुन्।

गौरीगंगा–१ घर भइ न्युजिल्याण्ड बस्दै आएका चक्रबहादुरले बुबा स्वर्गीय दीपबहादुर, आमा स्वर्गीय पद्मादेवी, भाइ तेजविक्रम चन्दको स्मृतिमा १० लाख रुपैयाँ लगानी गरि मन्दिर निर्माण गर्न लागेको बताए।

उनले थपे, ‘बुवाले जिन्दगी पूरै शिक्षा र समाजसेवामा समर्पित गर्नु भयो। उनले गरेका क्रियाकलापबाट अरूलाई पनि प्रेरणा मिलोस्। उहाँको कृति स्मरण रहोस् भन्ने हेतुले मन्दिर निर्माण गर्न लागेका हौँ ।’

भाइहरू मीन, नवीन, विक्रान्त र रविन चन्दको सहयोगमा मन्दिर निर्माण गरिने उनको भनाइ छ।

मन्दिर शिलान्यास कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, क्याम्पस प्रमुख मीनदत्त ढुंगाना लगायतको उपस्थिति थियो।

क्याम्पसका अध्यक्ष जोशीले क्याम्पस परिसरमा मन्दिर निर्माण गर्ने चन्द परिवारप्रति आभार प्रकट गरे। उनले स्वर्गीय दीपबहादुर चन्द प्रेरणाको स्रोत भएको बताए।

प्रतिक्रिया दिनुहोस्