आइपिएल : साबिक विजेता मुम्बई पहिलो खेलमै चेन्नईसँग पराजित

युएई- साबिक विजेता मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको छ।

आज (शनिबार) युएईमा सम्पन्न खेलमा मुम्बई चेन्नईसँग पराजित भएको हो।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नई १९.२ ओभरमा ५ विकेट गुमाएर विजयी भयो। उसका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए। यस्तै, फाफ डु प्लेसिस ५८ रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोडेको थियो। उसका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन जोड्दा क्विन्टन डि ककले ३३ रनको योगदान दिएका थिए।

बलिङमा चेन्नईका लुंगी नगिडीले ३ र दीपक चहर तथा रवीन्द्र जडेजाले समान २ विकेट लिए।

अघिल्लो सिजनका चार वटै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो।

मुम्बईको युएईमा यो लगातार छैटौं हार हो। यसअघि सन् २०१४ मा भएको आइपिएलमा मुम्बईले पाँच खेलमा पराजित भएको थियो।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण तोकिएभन्दा साढे पाँच महिनापछि युएईमा सुरु भएको हो। प्रतियोगिता नोभेम्बर १० सम्म चल्ने छ।

क्रिकइन्फो

प्रतिक्रिया दिनुहोस्