आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नई आज भिड्ने, कसले मार्ला बाजी?

युएई- इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण आज (शनिबार) युएईमा सुरु हुँदैछ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण तोकिएभन्दा साढे पाँच महिनापछि सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो सिजनका फाइनलिस्ट मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स भिड्न लागेका छन्।

यस्तोमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। मुम्बई चेन्नईविरुद्धको जितको यात्रा निरन्तरता दिने दाउमा छ। चेन्नई भने अघिल्लो सिजनमा हारको बदला लिने रणनीतिमा छ। यद्यपि, कुन टोलीले जित हासिल गर्ला भन्ने अनुमान लगाउन गाह्रो छ।

यी दुवै टोली उपाधिका दाबेदारसमेत हुन्। त्यसकारण खेल रोमाञ्चक हुने क्रिकेटप्रेमीले अपेक्षा गरेका छन्।

हेड टु हेडमा मुम्बई अघि

हेड टु हेडका आधारमा मुम्बई अघि देखिएको छ। यी दुवै टोलीबीच भएका ३० खेलमध्ये १८ खेल मुम्बईले जितेको छ। चेन्नईले भने १२ खेलमा मात्रै सफलता पाएको छ।

युएईमा मुम्बईको प्रदर्शन खराब

हेड टु हेडका आधारमा चेन्नईभन्दा अघि देखिएको मुम्बईको युएईमा प्रदर्शन राम्रो छैन। सन् २०१४ को आइपिएलमा मुम्बईले युएईमा खेलेका सबै (पाँच वटै) खेलमा पराजित भएको थियो।

युएईको पिच स्पिनरलाई मद्दत गर्ने खालको छ। त्यसकारण जुन टोलीको स्पिनरले राम्रो प्रदर्शन गर्छ, उसले खेल जित्ने सम्भावना बढी छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्