काठमाडौं- विश्वको सबैभन्दा बढी लोकप्रिय क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण भोलि (सेप्टेम्बर १९)मा युएईमा सुरु हुँदैछ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण केही समय स्थगित गरिएको आइपिएल निर्धारित तालिका अनुसार ढिलो सुरु हुन लागेको हो। तालिका अनुसार आइपिएल अप्रिलमा सुरु हुने कार्यक्रम थियो।
आइपिएलको १३ औं सिजन नजिकिँदै गर्दा अहिलेसम्म कसले सर्वाधिक विकेट लिए भन्ने क्रिकेटप्रेमीमाझ चासोको विषय बन्न सक्छ। यी हुन् आइपिएलमा सर्वाधिक विकेट लिने पाँच खेलाडी।
लासिथ मालिंगा
आइपिएलमा सर्वाधिक विकेट लिने कीर्तिमान मुम्बई इण्डियन्सका लासिथ मालिंगाको नाममा छ। सन् २००९ देखि आइपिएल खेलेका श्रीलंकन बलर मालिंगाले १२२ खेलबाट १७० विकेट लिइसकेका छन्। उनले एक पारीमा ६ पटक चार विकेट र एक पटक पाँच विकेट लिएका छन्।
आइपिएलका सर्वाधिक सफल बलर मालिंगा चालू सिजनमा भने उपलब्ध हुने छैनन्। उनले घरायसी कारण खेल्न नसक्ने बताएपछि मुम्बईले उनको स्थानमा अस्ट्रेलियाका जेम्स पिटम्सनलाई भित्र्याएको छ।
अमित मिश्रा
आइपिएलमा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा छन्, दिल्ली क्यापिटलका अमित मिश्रा। सन् २००८ देखि आइपिएल खेलिरहेका मिश्राले १४७ खेलबाट १५७ विकेट लिएका छन्। उनले एक पारीमा तीन पटक चार विकेट र एक पटक पाँच विकेट लिएका छन्।
मालिंगाले यो सिजन खेल्न नसक्ने बताएपछि मिश्रालाई यसपटक सर्वाधिक विकेट लिने कीर्तिमान बनाउने अवसर छ।
हरभजन सिंह
आइपिएलमा सर्वाधिक विकेट लिने सूचीमा चेन्नई सुपर किंग्सका हरभजन सिंह तेस्रो स्थानमा छन्। सन् २००८ देखि आइपिएल खेलिरहेका उनले १६० म्याचबाट १५० विकेट लिएका छन्। उनले एक पारीमा एक पटक चार र एक पटक पाँच विकेट लिएका छन्। उनले चालू सिजनमा आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन्।
पियुस चावला
चेन्नई सुपर किंग्सका पियुस चावला आइपिएलमा सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । पहिलो संस्करणदेखि आइपिएल खेलिरहेका उनले १५७ खेल खेलेर १५० विकेट लिएका छन्। उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन्।
ड्वेन ब्राभो
आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्, चेन्नई सुपर किंग्सका ड्वेन ब्राभो। सन् २००८ देखि आइपिएल खेलिरहेका उनले १३४ खेलबाट १४७ विकेट लिएका छन् । उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्