सिपिएल टि २० : ट्रिनबागो नाइट राइडर्सले चौथो पटक जित्यो उपाधि

काठमाडौं- वेस्ट इन्डिजको घरेलु क्रिकेट लिग सिपिएल टि-२० को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। बिहीबार राति सम्पन्न फाइनलमा उसले एसटी लुसिया जुक्समाथि ८ विकेटको जित निकाल्दै चौथो पटक उपाधि जितेको हो।

नाइट राइडर्सले सन् २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो। सन् २०१५ सम्म यसको नाम ट्रिनिडाड एन्ड टोबागो रेड स्टिल थियो।

१५५ रनको विजयी लक्ष्य पछ्याएको नाइट राइडर्सले १८.१ ओभरमा २ विकेटको क्षतिमा १५७ रन जोड्यो। उसका लागि प्रारम्भिक ब्याट्सम्यान लेन्डल सिमोन्सले अविजित रहँदै ८४ रन बनाए। यस्तै, मध्यक्रममा ब्याट्सम्यान ड्वेन ब्राभो ५८ रनमा नटआउट रहे।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको एसटी लुसिया जुक्सले १९.१ ओभरमा १५४ रन जोडेको थियो। उसका लागि एडिएस फ्लेचरले सर्वाधिक ३९ रन जोडेका थिए। बलिङमा नाइट राइडर्सका कप्तान क्यारोन पोलार्डले सर्वाधिक ४ विकेट लिए।

खेलको प्लेअर अफ दि म्याच सिमोन्स घोषित भए। प्लेअर अफ दि सिरिजको उपाधि भने पोलार्डले जिते।

क्रिकइन्फो

प्रतिक्रिया दिनुहोस्