काठमाडौं– मुआब्जा र विस्फोटक पदार्थ खरिद विवाद सुल्झिएपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणले गति लिन थालेको छ।
धादिङको सिस्नेखोलातर्फको मुआब्जा र सुरुङ खन्नको लागि आवश्यक पर्ने विस्फोटक पदार्थ आयात विवादका कारण सुरुङमार्ग उद्घाटन भएयता निर्माणले अपेक्षित गति लिएको थिएन।
गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको उद्घाटन गरेका थिए।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले आयोजनाको सबै विवाद अन्त्य भएर निर्माण सुरु भइसकेको बताए। ‘मुआब्जा र विस्फोटक पदार्थ खरिद विवाद टुंगिएसँगै अहिले सुरुङ खन्न सुरु भइसकेको छ,’ उनले भने।
उनका अनुसार अहिले सुरुङमार्गको काठमाडौं र धादिङतर्फको मुख्य द्वार खन्न सुरु गरिएको छ। ‘सुरुङमार्गको दुवैतर्फको मुख्य द्वारमा विस्फोटक पदार्थ प्रयोग नगरीकनै २० मिटर खन्न थालिएको छ,’ उनले भने, ‘दुवैतर्फ २०–२० मिटर खनेपछि मात्रै विस्फोटक पदार्थ प्रयोग गरेर खनिनेछ।’
आयोजनाले सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिबाट खन्ने जनाएको छ।
सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ।
धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान छ। आयोजनाको निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ।
मन्त्रिपरिषद् बैठकले धादिङतर्फको गुठीको जग्गा उपभोग गर्नेलाई मूल्यांकनको ५० प्रतिशत रकम क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेपछि मुआब्जा विवाद सल्टिएको हो। यसअघि गुठीको जग्गा उपभोग गर्नेलाई मूल्यांकनको ३३ प्रतिशत क्षतिपूर्ति दिने कानुनी व्यवस्था थियो।
मुआब्जा तथा क्षतिपूर्ति र निर्माण सँगसँगै अघि बढ्ने उनले बताए।
आयोजना निर्माणमा जापनी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ लाग्ने छ।
प्रतिक्रिया दिनुहोस्