‘नयाँ पुस्ता उत्ताउला नाचमा रमाउँदा संस्कृति लोप हुने खतरा छ’

विदेशमा संस्कृतिमूलक नाच देखाउने व्यस्त कलाकारमा गनिन्छन्, रोल्पाको त्रिवेणी गाउँपालिकाका उदिराम खड्का। २२ वर्षअघि काठमाडौंमा आएर संस्कृतिमूलक नाचमा क्रियाशील उनी झन्डै ३५ प्रकारका नाच नाच्ने गरेको बताउँछन्।

नेपाल सांस्कृतिक कलाकर्मी संघका उपाध्यक्षसमेत रहेका खड्कासँग उनको कला जीवनबारे गरिएको संवाद।

कला क्षेत्रमा सक्रिय हुनुभएको कति भयो?

काठमाडौं आएर कला क्षेत्रमै क्रियाशील भएको नै २२ वर्ष भयो। तर, म त्यसअघि नै यस क्षेत्रमा सक्रिय थिएँ। कुरो २०५१ सालतिरको हो। त्यतिबेला म रोल्पाको जुघाँरस्थित जलजला इङलिस बोर्डिङ स्कुलमा पढाउँथें। म विद्यार्थीलाई अध्यापनसँगै नृत्य र वाद्यवादन (मादल र हार्माेनियम) सिकाउँथे।

शिक्षण पेशाबाट कसरी कला क्षेत्रमा ‘यु टर्न’ गर्नुभयो त?

जलजला स्कुलमा पढाउन थालेको चार वर्ष भइसकेको थियो। २०५५ सालमा तत्कालीन नेकपा माओवादीले स्कुल बन्द गरिदियो। त्यसपछि पढाउनकै लागि दाङ गएँ। त्यहाँको एक स्कुलमा ६ महिना पढाइसकेपछि चितवन गएँ। त्यहाँको स्कुलमा पनि ५–७ महिना मात्रै पढाएँ।

चितवनमा पनि म अध्यापनसँगै विद्यार्थीलाई नृत्य (रोल्पा, दाङ र सल्यानको स्थानीय) तथा वाद्यवादन (मादल र हार्माेनियम) सिकाउँथे। स्कुलको प्रिन्सिपल लक्ष्मीराज राई सरले काठमाडौंको राष्ट्रिय नाचघरमा गएर देशभरकै संस्कृतिमूलक नाच सिक्न प्रेरित गर्नुभयो। र, केही आर्थिक सहयोग गर्ने वचन पनि दिनुभयो। उहाँकै प्रेरणा र सहयोगले म २०५५ सालमा नाच सिक्न काठमाडौं आएँ। त्यसयता काठमाडौंमै संघर्ष गरिरहेको छु।

पछि शिक्षण छाडेर पूर्णरुपमा कला क्षेत्रमा लाग्नुभएको हो?

हजुर, शिक्षण छाडेर कला क्षेत्रमै लागेको हुँ।

कला क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्याे त?

आफूभित्रको कला देखाउने हुटहुटी। मलाई आफ्नो कला कसलाई देखाऊँ भन्ने लागिरहन्थ्यो।

दुई दशकभन्दा बढी समयदेखि काठमाडौंमै टिकिरहनुभएको छ, कत्तिको संघर्ष गर्नुभयो?

चितवनबाट काठमाडौं आउँदा देशभरको संस्कृतिमूलक नाच सिकेर फर्कने योजना थियो। त्यहाँको स्कुल र मबीच पनि त्यही सहमति भएको थियो। त्यही अनुसार राष्ट्रिय नाचघरमा ६ महिना नाच सिकें। मलाई त्यति सिकाईले नृत्य शिक्षक हुन अपुगजस्तो लाग्यो। त्यसपछि मैले चितवन नफर्कने निर्णय गरें।

त्यसलगत्तै सत्यवति कला केन्द्र स्थापना गरियो, जसको अध्यक्ष अशोक बस्नेत हुनुहुन्थ्यो भने म सचिव थिएँ।

२०५६ साउनमा मैले दरबारमार्गस्थित याक एन्ड यति होटलमा नृत्य गर्ने जागिर पाएँ। त्यतिबेला उक्त होटलमा विदेशीहरुलाई संस्कृतिमूलक नाच देखाइन्थ्यो। म त्यहाँ कौडा, झ्याउरे र टप्पा नाच नाच्थें। मेरो मासिक तलब एक हजार पाँच सय रुपैयाँ थियो। अशोक बस्नेत र खड्क बुढा सरको कारणले मैले याक एन्ड यतिमा जागिर पाएको थिएँ।

उक्त जागिर नपाएको भए सायद म चितवन फर्किन्थें।

याक एन्ड यतिमा ६ महिना नाचिसकेपछि एउटा दोहोरी साँझमा मलाई मादल बजाउन, गाउन र नाच्नका लागि प्रस्ताव आयो। मैले प्रस्ताव स्वीकारें। त्यहाँ मेरो तलब दुई हजार पाँच सय रुपैयाँ तलब पुग्यो। त्यसपछि सत्यवति कला केन्द्रसँगै बेलुकाको जागिरले दैनिकी चल्न थाल्यो। २०६० सालमा तीन वटा बच्चा र पत्नीलाई पनि काठमाडौं ल्याएँ।

याक एन्ड यति होटलमा कौडा, टप्पालगायत नाच नाच्थे भन्नुभयो, अहिले कति प्रकारका नाच नाच्नुहुन्छ?

म अहिले नेपालका स्थानीय संस्कृति झल्कने ३०–३५ प्रकारका नृत्य गर्छु। देउडा, छलिया, हुड्केली, झ्याउरे, टप्पा, ट्यापुली, सोरठी, थारु, कौडा, पश्चिमको सोरठी, सालैज्यू, थकाली, भोजपुरी, मैथिली, झिझिया, घाँघर, नेवारी, तामाङ सेलो, शेर्पा, धान नाच, हापरे, चन्डी, सतार, लाखे, मञ्जुश्री, कुमारी आदि।

तपाईंकहाँ यी नाच सिक्न आउनेहरु पनि छन्?

एकदमै कम आउँछन्। पश्चिमा नाच बिबोइङ, हिपहप सिकाइन्छ भन्दै सोध्नेहरु धेरै हुन्छन्।

विदेशमा संस्कृतिमूलक नाचको माग कस्तो छ?

यो नाचले पर्यटकलाई बढी आकर्षण गर्छ। विदेशमा गरिएका कार्यक्रममा पनि यस्तो नृत्य गर्नेले बढी अवसर पाउँछन्। म नाच देखाउनकै लागि १६ वटा देशमा पुगिसकेको छु।

यी नाचमध्ये मयुर नाचचाहिँ कस्तो हो?

२०५५/०५६ सालतिर नै म मयुर नाचबाट प्रभावित थिएँ। तर, मैले सत्यवति कला केन्द्रको पहिलो नृत्य शिक्षकबाट सिकेको हुँ। अहिले नरेन्द्र आले सरले यो नाच नाच्नुहुन्छ। तर, निकै कम। पहिले खेलबहादुर लामा, विजय मानन्धरलगायतले नाच्नुहुन्थ्यो।

मयुर नाच नेपाल भित्र्याउनेचाहिँ छिरिङ लामा हुनुहुन्छ। उहाँ ८४/८५ वर्षको हुनुभयो। भैरवबहादुर थापाले यसलाई प्रचलनमा ल्याउनुभएको हो। यो नाच पाँच/सात जनाले नाच्नुभएको होला। अहिले मयुर नाचमा सबैभन्दा बढी व्यस्त म नै छु।

कतिपय नाचहरु लोप हुने अवस्थामा छन्, यसको संरक्षणका लागि कसले कस्तो भूमिका खेल्नुपर्छ?

कलाकारले पैसामा बिकेर छोड्नुभएन। यो क्षेत्रमा लागेका मानिसलाई राज्यले संरक्षण गर्नुपर्याे। नाच नाचेर जीविकोपार्जन गर्न नसक्ने स्थिति भयो भने कलाकारले नाच छोड्दै जान सक्छ। सांस्कृतिक कार्यक्रममा संस्कृतिमूलक नाच अनिवार्य गराउनुपर्याे। अहिले सांस्कृतिक कार्यक्रममा पश्चिमा र हिन्दी नाच देखाइने गरिएको छ।

आम नागरिकले पनि संस्कृतिमूलक नाचको माग गर्नु पर्याे। अहिले नयाँ पुस्तालाई उत्ताउला तथा भल्गर खालका नाच हेर्ने बानी परेको छ। संस्कृतिमूलक नाचलाई ‘ह्या’ भन्ने गरेको पनि पाइन्छ। यसले गर्दा हाम्रो संस्कृति लोप हुने खतरा छ।

यसको संरक्षणमा अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। अभिभावकले आफ्ना नानीबाबुलाई संस्कृतिमूलक नाच हेर्न प्रेरित गर्न आवश्यक छ।
यस्तै, विद्यालयमा पनि संस्कृतिमूलक नाच देखाउन आवश्यक छ। नत्र संस्कृति लोप भएर जानेछ।

कला क्षेत्रमा लामो समय बिताउनुभयो, कस्तो अनुभूति गरिरहनुभएको छ?

म गौरवको अनुभूति गरिरहेको छु। शिक्षण पेशामा लागेको भए रोल्पाको एक गाउँमा हुन्थे। अहिले देशभरका संस्कृतिसँग भिज्ने मौका पाएको छु।

भावी योजना के छ?

कला क्षेत्रमै सक्रिय हुन्छु। अहिलेसम्म घर धान्ने गरि मात्रै काम गरिरहेको थिएँ। अब व्यावसायिक रुपमा कला क्षेत्रमै सक्रिय हुने योजना बनाइरहेको छु।

प्रतिक्रिया दिनुहोस्