ललितपुर महानगरपालिकामा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू

काठमाडौं- ललितपुर महानगरपालिकामा आज (शुक्रबार) कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरले महानगरपालिकाको चक्रपथभित्र पर्ने बल्खुदेखि मनहरा पुलसम्मको क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहले धार्मिक तथा सांस्कृतिक विश्वासमा खलल पुर्याई शान्ति, सुरक्षा भंग गर्न गैरकानुनी हर्कत गरेको पाइएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यू जारी गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कर्फ्यू अवधिभर आवतजावत गर्ने, भेला हुने, जुलुस निकाल्नेलगायत गतिविधि गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। तर, प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।

प्रतिक्रिया दिनुहोस्