बाग्मतीमा कोरोना संक्रमितको संख्या ८४५१, निको हुने १५.८ प्रतिशत

काठमाडौं- बाग्मती प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको कूल संख्या साढे ८ हजार पुगेको छ। प्रदेशमा आज थप ६ सय जनामा संक्रमण पुष्टि भएसँगै यहाँ संक्रमितको कूल संख्या ८ हजार ४ सय ५१ पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लागत आधारमा काठमाडौंमा सबैभन्दा बढी ४ हजार ९ सय १९ जना कोरोना संक्रमित छन्।

यस्तै, चितवनमा ७ सय ८६, ललितपुरमा ७ सय ४४, मकवानपुरमा ५ सय ५५, भक्तपुरमा ५ सय ४६, काभ्रेपलाञ्चोकमा २ सय ३५, धादिङमा २ सय २७, सिन्धुपाल्चोकमा १ सय ६, नुवाकोटमा ९१, सिन्धुलीमा ८९, रामेछापमा ७२, दोलखामा ६२ र रसुवामा १९ जनालाई संक्रमण पुष्टि भएको छ।

प्रदेशमा १ हजार ३ सय ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। यो प्रदेशका कूल संक्रमित संख्याको १५.८ प्रतिशत हो।

मन्त्रालयका अनुसार प्रदेशमा ७ हजार ५८ जना कोरोना संक्रमित उपचाररत छन्। यहाँ अहिलेसम्म ५७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्