धनगढीमा महिलाका लागि होल्डिङ र आइसोलेसन सञ्चालन

कैलाली- धनगढीमा उपमहानगरपालिका-१ मा महिला होल्डिङ र आइसोलेसन सञ्चालन गरिएको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको उक्त होल्डिङ र आइसोलेसनको नगर प्रमुख नृपबहादुर वड र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले उद्घाटन गरे। आइसोलेसनमा १० तथा होल्डिङमा १२ वटा बेड राखिएको छ।

नगर प्रमुख वडका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट उपचार गर्न धनगढीमा आएका र जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरीहरुलाई होल्डिङ सेन्टरमा राखेर उपचार गरिने छ। त्यहाँ कुरुवा तथा केटाकेटीको हेरचाह गर्ने व्यक्तिलाई राख्ने व्यवस्था पनि गरिएको छ।

त्यसैगरी, आइसोलेशन सेन्टरमा उपमहानगरपालिका क्षेत्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएकालाई राखेर उपचार गरिने व्यवस्था गरिएको नगरप्रमुख वडले बताए।

‘महिला होल्डिङ आइसोलेसन सेन्टरमा चौबिसै घण्टा स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्यवस्था गरिएको छ,’ उनले भने, ‘लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमा बसेकी महिलामाथि यौन दुव्र्यवहार भएकाले यहाँ महिला सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।’

निर्देशनालयका निर्देशक डा. अवस्थीले धनगढीमा स्थापना गरिएको महिला होल्डिङ र आइसोलेसन देशकै नमुना भएको बताए। उनले भने, ‘यो प्रदेशमा अन्यभन्दा कोरोनाको जोखिम बढी भएकाले आइसोलेसन आवश्यक छ।’

उपप्रमुख सुशीला मिश्र भट्टले महिलाका लागि छुट्टै क्वारेन्टिन स्थापना गरिनु नमुना भएको बताइन्।

उपमहानगरपालिकाले यसअघि वडा नम्बर १५ मा ५३ वेडको आइसोलेसन पनि सञ्चालनमा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्