डिलाशैनीमा सामुदायिक वनमा एकै दिन रोपिए १७ हजार बिरुवा

धनगढी- धनगढी उपमहानगरपालिका ३ स्थित डिलाशैनी सामुदायिक वनमा शुक्रबार १७ हजार बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय, धनगढी र डिलाशैनी सामुदायिक वनको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा १० हेक्टर जमिनमा वृक्षरोपण गरिएको हो।

उपमहानगरपालिका मेयर नृपबहादुर वड र डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कडेलले संयुक्त रुपमा वृक्षरोपणको उद्घाटन गरे।

मेयर वडले आफू निर्वाचित भएदेखि ‘एक घर, दुई बिरुवा’, ‘भोट बरावर बोट’, ‘जनसंख्या बरावर बोट’लगायत अभियान सुरु गरेको बताए। ‘सामुदायिक वनको खाली जमिनमा फलफूलका बिरुवा रोप्नुपर्छ,’ मेयर वडले भने, ‘त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिनसक्छ।’

वनबिना मानव जगतको कल्पना पनि गर्न नसकिने भएकाले वृक्षरोपण आवश्यक रहेको उनको भनाइ छ।

डिभिजन वन कार्यालयका प्रमुख कँडेलले उपमहानगरपालिकाले थालेको वृक्षरोपण अभियान उदाहरणीय भएको बताए। उनले भने, ‘यसरी वृक्षरोपण गरिएमा हरित शहरको अभियान पूरा हुन्छ।’

उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलबहादुर ऐरले वृक्षरोपण गर्न वडावासी उत्साहित भएको बताए।

प्रतिक्रिया दिनुहोस्