कोरोना निको हुने दर : दक्षिण एसियामा नेपाल पाँचौं

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को निको हुने दरमा नेपाल दक्षिण एसियाको पाँचौं स्थानमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणको निको हुने दर ६४.१८ प्रतिशत छ।

नेपालमा बुधबार साँझसम्म १७ हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार २५ निको भएका छन्।

दक्षिण एसियामा कोरोना संक्रमण निको हुने दर भुटानमा बढी छ। त्यहाँ कोरोना निको हुने दर ९२.८६ प्रतिशत छ। वर्ल्डओमिटरडटइन्फोका अनुसार भुटानमा अहिलेसम्म ८४ जनामा संक्रमण पुष्टि हुँदा ७८ जना निको भएका छन्।

यो सूचीमा माल्दिभ्स र श्रीलंका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यहाँ क्रमशः ८२.१८ र ७४.५९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।

वर्ल्डओमिटरडटइन्फोका अनुसार माल्दिभ्समा दुई हजार आठ सय एक जनामा संक्रमण देखिँदा दुई हजार तीन सय दुई जना कोरोनामुक्त भएका छन्। यस्तै, श्रीलंकामा दुई हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक हजार ९ सय ८८ जना डिस्चार्ज भएका छन्।

संक्रमणका आधारमा दक्षिण एसियामा दोस्रो स्थानमा रहेको पाकिस्तान निको हुने दरको सूचीमा चौथो स्थान छ। त्यहाँ कोरोना निको हुने दर ६७.५६ प्रतिशत छ। वर्ल्डओमिटरडटइन्फोका अनुसार त्यहाँ दुई लाख ५५ हजार सात सय ६९ जनामा संक्रमण पुष्टि भएकोमा एक लाख ७२ हजार आठ सय १० जना निको भइसकेका छन्।

दक्षिण एसियामा संक्रमणका आधारमा चौथो स्थानको अफगानिस्तानमा निको हुने दर नेपालकै करिब छ। त्यहाँ कोरोना निको हुने दर ६४.१७ प्रतिशत छ। वर्ल्डओमिटरडटइन्फोका अनुसार त्यहाँ ३४ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि हुँदा २२ हजार चार सय ५६ निको भएका छन्।

दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित रहेको भारतमा निको हुने दर ६३.१६ प्रतिशत छ। दक्षिण एसियामा कोरोना निको हुने दरको सूचीमा सातौं (पुछारबाट दोस्रो) स्थानमा रहेको भारतमा ९ लाख ४१ हजार ६ सय ३० संक्रमित छन्। त्यहाँ कोरोनामुक्त हुनेको संख्या पाँच लाख ९४ हजार सात सय २३ छ।

दक्षिण एसियामा तेस्रो सर्वाधिक संक्रमित रहेको बंगलादेश निको हुने दरमा भने पुछारमा छ। त्यहाँ एक लाख ९३ हजार पाँच सय ९० संक्रमित रहेकोमा एक लाख पाँच हजार पाँच सय २३ निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्