कोरोनापछिको पहिलो टेस्टमा वेस्ट इन्डिजसँग घरेलु टोली इंग्ल्यान्ड स्तब्ध

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी विश्वभर फैलिएपछिको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध बनाएको छ।

आइतबार राति सम्पन्न पहिलो खेलमा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको हो। वेस्ट इन्डिजलाई विजयी बनाउन जेर्मेन ब्ल्याकवुडले दोस्रो पारीमा ९५ रनको योगदान दिए। वेस्ट इन्डिजका कप्तान जेसन होल्डर १४ र जोन क्याम्पवेल ८ रनमा अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा २०४ रन बनाएको थियो। इंग्ल्यान्डलाई सस्तैमा समेट्न जेसन होल्डरले ६ तथा सान्नोन ग्याब्रियलले चार विकेट लिएका थिए।

वेस्ट इन्डिजले भने पहिलो पारीमा ३१८ रन बनाएको थियो। त्यसपछि आफ्नो दोस्रो पारी थालेको इंग्ल्यान्डले ३१३ रन बनाएपछि वेस्ट इन्डिजले २०० रनको विजयी लक्ष्य पाएको थियो।

खेल गत बुधबार (जुलाई ८ मा) इंग्ल्यान्डको ह्याम्पटनस्थित मैदानमा सुरु भएको हो।

यी दुई टिमबीच तीन टेस्टको क्रिकेट शृंखला जारी छ, जसअन्तर्गत दोस्रो खेल आगामी बिहीबार (जुलाई १६)देखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्