काठमाडौं- आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन। असार शुक्ल एकादशीमा पर्ने यो दिन हिन्दू धर्मावलम्बीले घरमा बनाइएको मठमा तुलसी रोप्ने गरेका छन्। आजको दिनलाई तुलसीरोपण एकादशी पनि भनिन्छ।
निर्जला (ज्येष्ठ शुक्ल) एकादशीमा घरघरमा छरेको तुलसीको बीउलाई आज रोपेर पूजा गरिन्छ। आज रोपिने तुलसीको बिरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन सांगे गर्ने शास्त्रीय परम्परा छ।
तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महिनापछि अर्थात् हरिबोधनी एकादशीमा जाग्ने विश्वाश छ।
आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश छ।
चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्नेले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय मान्यता छ।
प्रतिक्रिया दिनुहोस्