कैलालीका एक स्वास्थ्यकर्मीले जिते कोरोना, भन्छन्- सहजै परास्त गर्न सकिन्छ

धनगढी- कैलालीका एक स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। गौरीगंगा नगरपालिकाको चौमालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअहेव चुडामणी जोशीले आइतबार कोरोना जितेका हुन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको उनको कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। संक्रमण पुष्टि भएको १० दिनपछि उनी कोरोनामुक्त भएका हुन्।

गत असार ४ गते अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

कोरोनामुक्त भएपछि देशदूतसँग कुरा गर्दै उनले आत्मबल र रोगलाई जित्ने विश्वास भए कोरोनालाई सहजै परास्त गर्न सकिने प्रतिक्रिया दिए। ‘ममा आत्मबल थियो, यससँगै मैले नियमित झोलिलो खानेकुरा खाइराखेको थिएँ,’ उनले सुनाए।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेका थिए। त्यसयता स्वास्थ्य केन्द्रका प्रमुख सर, नगरपालिकाका मेयरसा’ब तथा प्रमुख प्रशासकीय अधिकृत सर, आफन्त लगायतबाट पाएको हौसला र सहानुभूतिले आत्मबल मिलेको उनको भनाइ छ।

बिरामीको नियमित उपचारका क्रममा आफूलाई संक्रमण पुष्टि भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्