विश्वभर कोरोना संक्रमितको संख्या करोड नाघ्यो, मर्ने पाँच लाख नजिक

काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करोड नाघेको छ।

वर्ल्डओमिटर डट इन्फोका अनुसार आज (आइतबार) बिहान १२ बजेसम्म विश्वभर एक करोड पाँच सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी अमेरिकामा छन्। त्यहाँ २५ लाख ७८ हजार १५ जनामा कोरोना संक्रमण देखिएको छ।

सर्वाधिक संक्रमितको सूचीमा ब्राजिल दोस्रो, रुस तेस्रो र भारत चौथो स्थानमा छन्।

यस्तै, विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब पाँच लाख छ। वर्ल्डओमिटरका अनुसार चार लाख ९८ हजार ९ सय ५४ को ज्यान गइसकेको छ।

संक्रमणबाट ज्यान गुमाउने पनि अमेरिकामै बढी छन्। त्यहाँ एक लाख २७ हजार ९ सय ५२ जनाको ज्यान गइसकेको छ। त्यसपछि ब्राजिलमा सबैभन्दा धेरै ५६ हजार एक सय ९७ को कोरोना संक्रमणबाट ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्