क्वारेन्टिन बनाइएको विद्यालयमा कम्प्युटर चोरी

धनगढी- कैलालीमा क्वारेन्टिन बनाइएको एक विद्यालयमा कम्प्युटर चोरी भएको छ।

गौरीगंगा नगरपालिका–६ स्थित अमर माविबाट हिजो (शुक्रबार) राति दुई थान मोनिटर र चार थान सिपियु चोरी भएको प्रअ उजिर सिंह कुँवरले जानकारी दिए।

“विद्यालयको कम्प्युटर कक्षामा हिजो दिउँसोसम्म सबै कम्प्युटर यथावत नै थिए। आज हेर्दा दुई थान मोनिटर र चार थान सीपीयू छैनन्,” उनले भने।

हिजो राति हावाहुरी आएको बेला कम्प्युटर चोरी भएको चौकिदारलाई उद्धृत गर्दै प्रअ कुँवरले बताए। चोरीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ।

कम्प्युटर कक्षाको ढोका धकालेर खोलिएको इलाका प्रहरी कार्यालय, अत्तरियाका डीएसपी ज्ञानबहादुर विष्टले बताए। “ढोकामा ताला लगाए पनि धकालेरै खुल्दो रहेछ,” उनले भने।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्