धनगढी- क्वारेन्टिनबाट भागेर घर बसेका कैलालीको गौरीगंगा नगरपालिकाका १८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। घरमा बसेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास बढेको छ।
वडाअध्यक्ष जगतराम चौधरीका अनुसार गत जेठ ३० गते गौरीगंगा नगरपालिका–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टिनबाट ५० जना (सबै) भागेका थिए। तीमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले गत बुधबार गौरीगंगा नगरपालिकाका ती १८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
त्यसअघि आरडिटी नतिजा नेगेटिभ आएका २७ जनालाई भने घर पठाइएको वडाअध्यक्ष चौधरीले जानकारी दिए।
स्थानीय प्रकाश थापाले क्वारेन्टिनबाट भागेर घरमा बसेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्रासका कारण घरबाहिर ननिस्किएको बताए। ‘संक्रमित व्यक्ति खुलेआम हिँडडुल गर्दा स्थानीय आतंकित छन्,’ उनले भने।
अर्का स्थानीय यज्ञनिधि कोइरालाले क्वारेन्टिनमा रहेका व्यक्ति भागेर घर जाने अवस्था आउनुमा वडा कार्यालयको लापरवाही रहेको बताए। ‘क्वारेन्टिन व्यवस्थापनमा लापरवाही देखिएकाले यो अवस्था आएको हो,’ उनले भने। उनले कोरोना परीक्षण र त्यसको नतिजामा ढिलाइका कारण यो अवस्था आएको उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी अध्यक्ष विष्णु आचार्यले जनप्रतिनिधि लापरवाही र क्वारेन्टिनमा बसेका व्यक्तिको अटेरीका कारण यो अवस्था सिर्जना भएको बताए। कोरोना परीक्षणको नतिजामा ढिलाइका कारण क्वारेन्टिनमा बसेका व्यक्ति आत्तिएको र स्थानीय राजनीतिक दलका प्रतिनिधिले सम्झाउँदा पनि उनीहरुले नमानेको अध्यक्ष आचार्यको भनाइ छ।
नगरपालिकाकी उपमेयर अन्चला चौधरीले क्वारेन्टिनबाट भागेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई नगरपालिकामै निर्माण गरेको आइसोलेसनमा राख्न घरमै जाँदा पनि कसैले नमानेको बताइन्। ‘कतिपयले रोपाइँको सिजन छ भने त केहीले घरमै बस्छु भने,’ उनले भनिन्।
तीमध्ये दुई जनालाई भने नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको उनले बताइन्।
नेपाली कांग्रेस, कैलालीको क्षेत्र नम्बर ४ का सभापति एवं स्थानीय दिनेशराज जोशीले संक्रमण समुदायमा फैलन नदिन कम्तीमा नगरपालिकाको वडा नम्बर १ लाई सिल गर्न आवश्यक रहेको बताए। ‘कोरोना संक्रमित गाउँमा घुलमिल भइसकेकाले वडा नम्बर १ लाई सिल गर्न आवश्यक भइसकेको छ, अन्यथा भयावह स्थिति देखिन सक्छ,’ उनले भने।
उनले संक्रमितका परिवारका सदस्यको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताए। तर, नगरपालिकाले संक्रमितका परिवारको पीसीआर परीक्षण आवश्यक नभएको जनाएको छ। ‘संक्रमितलाई क्वारेन्टिनमै राखेको १४ दिनभन्दा बढी भइसकेकाले संक्रमितमा कोरोना भाइरस निष्क्रिय भइसकेको छ, त्यसकारण पीसीआर परीक्षण आवश्यक छैन,’ नगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतले भन्यो।
अन्यत्र संक्रमण फैलन नदिन उक्त वडालाई रेड जोन घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतले बताएको छ।
गौरीगंगामा अहिलेसम्म ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्