कर्णालीमा एकै दिन १८८ जना कोरोनामुक्त

काठमाडौं- कर्णाली प्रदेशमा एकै दिन एक सय ८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्।

प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार दैलेखको जिल्ला अस्पतालबाट एक सय २० जना तथा दुल्लु अस्पतालबाट २७ जना उपचारपछि निको भएर मंगलबार घर फर्किएका छन्। यस्तै, सल्यानको जिल्ला अस्पतालबाट ४१ जना पनि आजै डिस्चार्ज भएको महाशाखाले जनाएको छ।

यस्तै, हिजो डिस्चार्ज भई छुटेका ३ जना गरी थप डिस्चार्ज हुनेको संख्या एक सय ९१ छ। यससँगै कर्णालीमा कोरोनाको उपचारपछि निको भइ घर फर्किनेको संख्या तीन सय ४२ पुगेको छ।

थप ९ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३, ५ र ११ का एकएक र वडा नम्बर ७ का दुई पुरुष कोरोना संक्रमित भएका छन्।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ र १२ का एक एक पुरुष तथा भेरीगंगा नगरपालिकाका एक पुरुष र एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ। हाल ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्