आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टिनमा बसेकाले गरे वडा कार्यालय घेराउ

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका छन्।

गौरीगंगा नगरपालिका-६ स्थित अमर माविमा बनाइएको क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पिसिआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय आइतबार (आज) घेराउ गरेका हुन्।

आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए। उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरी हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए।

वडाअध्यक्ष कमला कुमारी ओझाले अमर माविको क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पिसिआर परीक्षणको माग गरिरहेको बताइन्। ‘तर, त्यो तत्काल सम्भव छैन,’ उनले भनिन्, ‘सुदूरपश्चिममा स्वाब संकलन स्थगित गरेकाले अझै दुई दिन पिसिआर परीक्षण गर्न सकिने अवस्था छैन।’

सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले शुक्रबार (जेठ २३ गते) विज्ञप्ति प्रकाशित गरी पाँच दिनका लागि स्वाब संकलन स्थगित गरेको जनाएको थियो।

वडाअध्यक्ष ओझाका अनुसार उक्त क्वारेन्टिन रहेका ६२ जनाको तीन दिनअघि आरडीटी परीक्षण गरिएको थियो। तीमध्ये ७ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। आरडीटी पोजेटिभ देखिएकामध्ये एक जना घरमै होम क्वारेन्टिनमा बसिरहेको उनले जानकारी दिइन्।

स्वाब संकलन सुचारु भए उनीहरूको पीसीआर परीक्षण गरिने वडाअध्यक्ष ओझाले बताइन्।

प्रतिक्रिया दिनुहोस्