सांसद गगन थापाले भने- एसपिपीबारे प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्नुपर्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीसमेेत रहेका सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन्।

‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ। नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ। त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ। म आग्रह गर्न चाहन्छु- आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो। हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ।’

उनले सामरिक विषयमा नेपालले सजग भएर कदम चाल्नुपर्ने बताए। ‘जहाँ सामरिक विषय हुन्छ, त्यो विषयमा हामीजस्तो देशले शक्ति राष्ट्रहरूको छेऊमा पनि जानु हुँदैन। यो मेरो विचार मात्रै होइन, नेपालको संविधानले नै त्यही भन्छ। मेरो पार्टी नेपाली कांग्रेस पार्टीको निर्णयले पनि त्यही भन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्