ब्याटिङ नचल्दा ओमानसँग पराजित भयाे नेपाल

काठमाडाैं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकाेणात्मक शृंखलाकाे आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएकाे हाे।

ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन जोडे। उनले ७९ बलमा ६ चौका प्रहार गरे।यस्तै, देव खनालले ३४ रनकाे याेगदान दिए। उनीहरूबाहेक अन्य खेलाडीले २० रनकाे आँकडा पनि पार गर्न सकेनन्।

ओपनरद्वय सुवास खकुरेल ३ रन र सुनील धमला १२ रनमा आउट भए। यस्तै, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६ र विनोद भण्डारीले १४ रन मात्रै जाेड्न सके। भण्डारीले ४२ बल खेल्दा चौका र छक्का प्रहार गर्न सकेनन्। यसैगरी, करण केसी ८, सोमपाल कामी १३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए।

बलिङमा ओमानका जिसन मक्सुद र खावर अलीले ३-३ विकेट लिए। विलाल खानले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २ सय ११ रन जोड्यो। उसका लागि कप्तान जिसन मक्सुदले अविजित रहँदै १०४ रन बनाए। यस्तै, सोएब खानले २७ रन र खावर अलीले ३० रन जोडे। अन्य खेलाडीले भने ठूलाे स्काेर जाेड्न सकेनन्।

बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। उनले १० ओभमा ३८ रन खर्चिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामीलाई १ विकेट हात पर्याे। शृंखलामा नेपाल र ओमानसँगै अमेरिका सहभागी छ।

प्रतिक्रिया दिनुहोस्