विश्वभर कोरोना संक्रमण : कहाँ के भयो ?

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट ६३ लाख ७२ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।

सिएनएनका अनुसार नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्म विश्वभर तीन लाख ७९ हजार सात सय ९ जनाको यसको संक्रमणबाट ज्यान गइसकेको छ।

विश्वभर मंगलबार के भयो ? केही घटनाको तल चर्चा गरिएको छ।

न्युजिल्यान्डमा प्रतिबन्ध हटाइने

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आगामी साता कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउने बताएका छन्। उनका अनुसार सामाजिक दूरीको नियम हटाइनेछ। तर, देशको सीमा बन्द रहनेछ।

बेलारुसमा ३६ सय बालबालिका संक्रमित

बेलारुसमा तीन हजार ६ सय बालबालिकामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ अहिलेसम्म कूल संक्रमितको संख्या ४३ हजार चार सय तीन पुगेको छ। यस्तै, कोरोना संक्रमणबाट दुई सय ४० जनाको ज्यान गइसकेको छ।

इन्डोनेसियाले रद्द गर्याे हज यात्रा

इन्डोनेसियाका धार्मिक मामिलामन्त्रीले विज्ञप्ति जारी गर्दै यस वर्ष हज यात्रा रद्द गरेको जनाएका छन्। प्रत्येक वर्ष हजारौं मानिस साउदी अरबमा हज यात्राका लागि जाने गर्छन्, जहँ इस्लामका दुई सबैभन्दा पवित्र स्थल मक्का र मदिना छन्।

दक्षिण अमेरिकी देशमा प्रतिबन्ध खुकुलो

दक्षिण अमेरिकी देशले सोमबारदेखि कोरोना भाइरसका कारण लगाइएका प्रतिबन्ध खुकुलो बनाउन सुरु गरेका छन्। ब्राजिलको राजधानी रियो द जेनेरियोसहित केही बढी जनसंख्या भएका सहरमा पनि प्रतिबन्ध खुकुलो बनाइएको छ।

चीनमा चिकित्सकको निधन

चीनमा करिब चार महिनायता उपचाररत चिकित्सकको निधन भएको छ। ‘द पेपर’का अनुसार मंगलबार बिहान हु वाइफेन्ग अस्पतालमा उनको निधन भएको हो। यद्यपि, उनको मृत्युको कारण पुष्टि हुन सकेको छैन।

अफगानिस्तानमा २४ घन्टामा ७५९ संक्रमित

अफगानिस्तानमा २४ घन्टामा सात सय ५९ जनामा संक्रमण देखिएको छ। त्यहाँ अहिलेसम्म १५ हजार सात सय ५० जना संक्रमित छन्। त्यहाँ दुई सय ६५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्