धनगढी उपमहानगरको प्रमुख र उपप्रमुख पदमा क–कसले दिए उम्मेदवारी ?

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा १० र उपप्रमुख पदमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

स्थानीय तहको निर्वाचनअन्तर्गत धनगढी उपमहानगरको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाबाट अञ्जना श्रेष्ठले उम्मेदवारी दिएका हुन्।

नगर प्रमुख पदका लागि स्वतन्त्रबाट तीन जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्रबाट नगर प्रमुखमा उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द) छन्।

यसैगरी, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गरेकी छन्। यस्तै, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गादत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रबाट प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुदैछ।

प्रतिक्रिया दिनुहोस्