सुनसरीकाे बंगुर अनुसन्धान इकाईका तत्कालीन प्रमुखसहित ७ जनाविरूद्व भ्रष्टाचार मुद्दा

काठमाडाैं- अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, सुनसरी अन्तर्गतकाे बंगुर अनुसन्धान इकाईका तत्कालीन प्रमुखसहित ७ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

अख्तियारले बंगुर बिक्रीमा हिनामिना गरेकाे आराेपमा बंगुर अनुसन्धान इकाईका तत्कालीन प्रमुख रामदेव पण्डित, सहायक कर्मचारीद्वय शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृतद्वय सोभितलाल यादव र तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठविरूद्व विशेष अदालतमा आराेपपत्र दायर गरेकाे हाे।

आराेपित कर्मचारीकाे मिलेमताेमा बंगुर बिक्रीमा ७ लाख रूपैयाँ हिनामिना भएकाे देखिन आएकाे अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी कर्मचारीकाे मिलेमताेमा बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाई बिक्री गरिएकाे अख्तियारकाे ठहर छ।

सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन परेपछि त्यसबारे अनुसन्धान गरिएकाे अख्तियारले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्