खैराला प्रसूति गृह निर्माणमा अनियमितता : हस्तान्तरण नहुँदै थालियो मर्मत

धनगढी– कैलालीको चुरे गाउँपालिका–२, खैरालास्थित प्रसूति गृहको भवन हस्तान्तरण नहुँदै मर्मत थालिएको छ। भवनको छानो चुहिएपछि र झ्याल–ढोका चर्किएपछि हस्तान्तरणअगावै मर्मत थालिएको हो।

उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत निर्माण भएको थियो। उक्त भवन मर्मतका लागि गाउँपालिकाले दुई लाख रुपैयाँ दिइसकेको छ।

भवन निर्माणमा अनियमितता भएको स्थानीयको आरोप छ। स्वास्थ्य चाैकीलाई भवन हस्तान्तरणअगावै मर्मत गर्नुपर्ने अवस्था आउनु अनियमितता भएकाे स्थानीयकाे दाबी छ। तर, उपभोक्ता समितिका सदस्य प्राविधिक कारणले हस्तान्तरणअगावै भवनको मर्मत गर्नुपरेको बताउँछन्।

प्रसूति गृह निर्माण उपभोक्ता समिति सदस्य दिल बहादुर दियाकोटीले भवनको झ्याल–ढोका चर्किएको र छानो राम्रोसँग नछाइएकोले मर्मत गर्नुपरेको बताए।

‘त्यतिबेला काचो काठको झ्याल–ढोका बनाएका थियौं। अहिले त्यो चर्कियो,’ उनले भने, ‘छानोमा पनि केही जस्तापाता छोटा भएकाले मर्मत गर्न लागेका हौं।’

उनले छानो निकालेर पुनः छाउन लागिएको र झ्याल–ढोका नयाँ बनाइने जानकारी दिए।

खैराला स्वास्थ्य चौकीका इन्चार्ज बलबहादुर कठरियाले भवनबाट प्रसूति सेवा सुचारु हुन नसकिएपछि मर्मत थालिएको बताए। भवन निर्माणपछि मात्रै आफू कार्यालयमा सरुवा भएर आएकाले भवन निर्माणबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ।

उपभोक्ता समिति सदस्य दियाकोटीले एक महिनामा भवनको मर्मत गरिसक्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्