नेपाल पपुवा न्युगिनीविरूद्वको एकदिवसीय क्रिकेट शृंखलामा पराजित

काठमाडौं : नेपाल पपुवा न्युगिनीविरूद्वको एकदिवसीय क्रिकेट शृंखलामा पराजित भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न २ खेलकाे शृंखलामा नेपाल ०-२ ले पराजित भएकाे हाे।

शनिबार सम्पन्न शृंखलाकाे दोस्रो तथा अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।

नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे। पपुवा न्युगिनीका लागि लिगा सिआकाले ९० रन बनाए। यस्तै रिले हेकुरेले ४८, सेसे बाउले ३८ रनको योगदान दिए।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। यस्तै, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै २७८ रन जाेडेकाे थियाे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक हिर्काएका दीपेन्द्रले १०५ रन जोडे। 

यस्तै, देव खनालले अर्धशतक प्रहार गरे। ८६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए।

प्रतिक्रिया दिनुहोस्