धनगढी : ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल सांस्कृतिक संघ जिल्ला कार्यसमिति कैलालीले अत्तरियामा अन्तरक्रिया कार्यक्रम गरेको छ।
संघका सभापति एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य सुरत रावत (डोटेली कान्छा)को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खडका प्रमुख अतिथि रहेका थिए भने नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्वसांसद हीरादत्त भट्ट विशिष्ट अतिथि रहेका थिए।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले फाल्गुन ७ गतेलाई पहिलो पटक नेपाली जनता रैतीबाट जनता भएको दिन र प्रजातन्त्रको जग बसेको दिनकाे रूपमा लिइने उल्लेख गरे। नेपाली कांग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुने भएकाले पार्टी मजबुत बनाउनुपर्ने उनकाे जोड थियाे। पार्टीलाई एक ढिक्का बनाएर तीनै तहको निर्वाचन विजय गराउनुपर्ने उनले बताए। अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता हीरादत्त भट्ट, नेपाली कांग्रेस क्षेत्र न.४ का सभापति वसन्त रोकाय, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायण दत्त भट्ट, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य पदमराज भट्ट, नेपाली कांग्रेसका राष्ट्रिय प्रशिक्षक एवं दुर्गालक्ष्मी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, नेपाली कांग्रेस कैलालीका पूर्वकोषाध्यक्ष एवं नेपाल सांस्कृतिक संघका पूर्व केन्द्रीय सदस्य प्रभाकर भण्डारी, नेपाली कांग्रेस क्षेत्र न.४ का पूर्वसचिव लोकराज पाण्डेय (आगो) लोकतान्त्रिक स्रष्टा दीपेन्द्र प्रसाद दाहाल लगायतले प्रजातन्त्रका बारेमा चर्चा गरेका थिए। नेपाल सांस्कृतिक संघ कैलाली जिल्ला सचिव तोयनाथ भट्टले सञ्चालन गरेकाे कार्यक्रममा जिल्ला सदस्य दलबहादुर बोगटीले स्वागत मन्तव्य गरेका थिए।
प्रतिक्रिया दिनुहोस्