‘अर्ली इलेक्सन’बारे सत्ता गठबन्धनका नेतासँग परामर्श गर्छु : देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’बारे सत्ता गठबन्धनका नेतासँग परामर्श गरिने बताएका छन्।

कैलालीको धनगढीमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले आफूले चाहेर मात्रै ‘अर्ली इलेक्सन’ नहुने बताएका हुन्।

वैशाखमा ‘अर्ली इलेक्सन’ सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘वैशाखमा गर्ने कि कहिले गर्ने ? गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन। गठबन्धनले जे भन्छ, त्यही हुन्छ।’

‘अर्ली इलेक्सन’को बहस चले पनि वैशाखअघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ।

सुदूरपश्चिम प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले बाढी–पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने बताए।

साथै उनले एमसीसी संसदबाट पारित हुने बताए। ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन। यो नेपालको कानुनअनुसार हुन्छ,’ उनले भने।

कांग्रेसको १४ औं महाधिवेशन सर्छ कि तोकिएकै मितिमा हुन्छ भन्ने प्रश्नमा देउवाले पार्टीको निर्वाचन कमिटीले गरेको निर्णयअनुसार हुने बताए।

‘जनताकाे साथमा रहेका कार्यकर्ताको मूल्यांकन गरिनुपर्छ’

कैलाली कांग्रेसका नेता–कार्यकर्ताले जनताकाे साथमा रहेका कार्यकर्ताको मूल्यांकन गर्न पार्टी सभापति देउवासँग आग्रह गरेका छन्।

सुदूरपश्चिममा बाढी–पहिरोबाट भएको क्षतिको स्थलगत अनुगमनपछि पार्टी कार्यकर्तासँग भेटघाट गर्न बिहीबार साँझ धनगढी पुगेका सभापति देउवासँग कैलालीका नेता–कार्यकर्ताले यस्तो आग्रह गरेका हुन्।

भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले निर्वाचनका बेला टिकटका लागि र पार्टी अधिवेशनमा नेतृत्व लिन खोज्ने प्रवृत्ति रहेकाले यसप्रति सबै सचेत र सजग हुनुपर्ने बताए।

‘अघिपछि जनतासँग कुनै सरोकार नराख्ने तर चुनाव आउदा टिकट लिन र महाधिवेशनका बेला जनतामाझ देखिने कार्यकर्तालाई चिन्नुपर्छ। काम गर्ने कार्यकर्ता जहिले पनि जनताको साथमा छन्। तिनीहरूको उचित मूल्यांकन हुन जरुरी छ,’ उनले भने।

साथै उनले बाढी–पहिरोबाट प्रभावितलाई गास, बास र कपासको उचित व्यवस्थापन गर्नसमेत आग्रह गरेका थिए।

भेटघाट कार्यक्रममा कैलाली कांग्रेसका पार्टी सभापति नरनारायण शाह ‘मनु’, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावललगायत नेता– कार्यकर्ताको सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्