बाढी आएपछि ठूलीगाडको बगरमा थुनिएका दम्पती उद्धारका लागि हेलिकोप्टर पर्खिँदै

धनगढी : अविरल वर्षासँगै आएको बाढीका कारण ठूलीगाडको बगरमा थुनिएका कैलालीको मोहन्याल गाउँपालिका–४, खिमडीका एक दम्पती उद्धारको पर्खाइमा छन्।

मोहन्याल गाउँपालिकामा गैरसहकारी संस्था फाया नेपालका कर्मचारी शैलेन्द्र जोशीका अनुसार ठूलीगाडको मध्य भागमा रहेको बगरमा मोहन्याल गाउँपालिका–४, खिमडीका ५१ वर्षीय लोकबहादुर बुढा मगर र उनकी पत्नी ४७ वर्षीया बिर्मादेवी बुढा मगर थुनिएका छन्। उनीहरूकी एक छोरी भने त्यहाँबाट निस्किसकेकाे उनले जानकारी दिए।

बगरमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले खोलाको बीच भागमा रहेको बगरमा बनाएको झुप्रोसमेत बाढीले बगाएको स्थानीयलाई उद्धृत गर्दै जोशीले बताए।

खाेलामा ठूलाे बाढी आएकाले ती दम्पतीको उद्धार हेलिकोप्टरबाट मात्र सम्भव रहेको जोशीको भनाइ छ। ‘ती दुई जनाको उद्धार तत्काल गर्नु जरुरी छ। खोलामा बाढी बढे उनीहरूलाई बगाउन सक्ने छ,’ उनले भने।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले उक्त घटनाबारे आफूलाई केही समयअघि मात्रै जानकारी आएको बताए। ‘ती व्यक्तिको एक्ज्याक्ट लोकेसन पत्ता लगाएर उद्धारका लागि पहल गर्नेछौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्