सकसपूर्ण राजधानीको बसाई

  • कल्पना खरेल

जताततै भिडभाड अनि कोलाहल। संघीय राजधानी काठमाडौं चिनाउन यति परिचय काफी छैन। यसलाई पर्याप्त अवसर रहेको ठाउँ पनि भन्न सकिन्छ। यो देशको केन्द्रविन्दु समेत हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस यही अवसर खोज्न आउँछन्, अनि यसै सहरले धेरैको सपनासमेत साकार पारेको छ। र, देशलाई अन्तर्राष्ट्रिय स्तरमा जोडेको छ।

यही सहरको कोठाभित्र काठमाडौं बसाईका आफ्ना अनुभूति लिपिबद्ध गर्दैछु।

कतै थुनिएको जस्तो। कतै बाँधिएको जस्तो। कतै च्यापिएको जस्तो। शरद् ऋतुमा आकाशमा बादल सल्बलाइरहेको। धम्म अँध्यारो, दिउँसै रातजस्तो। झ्यालबाट नियाल्न खोजे– अन्धकार देखिने।

ठूला–ठूला महलका कंक्रिटका भित्ता। न स्वच्छ वायुको स्पर्श छ न त सूर्यको पारिलो ताप नै। कोठाका झ्याल व्यर्थ साबित भइरहेका छन्। न ती झ्यालले घामको प्रकाश नै दिन सक्छन् न त स्वच्छ वायुको स्पर्श नै। त्यो कोठाको झ्यालबाट न हरियाली दृश्य देखिन्छ न त खुला आकाश नै।

मेरो ६ महिनाको बसाईको अन्तरालमा कोभिडको प्रभावले सुस्त भए एक महिना ! अरु तीन महिना उपन्यास (निकाहा)मा व्यस्त भए ! उपन्यास लेखिसकेपछि निसास्सिए ! निकै सकस भयो!

काठमाडौं घर भएका घरबेटी प्रायः माथिल्लो तलामा बस्छन्। आफ्नै घर हुनेलाई खुला आकाश हेर्न कुनै समस्या भएन। आफ्नै घर हुनेहरू सेवा सुबिधा प्रयोग गरेर आनन्दपूर्वक बसिरहेका छन्। तर, मजस्तै भाडाको बन्द कोठामा बस्नेहरू कसरी बस्छन् होला ? ती ‘अन्धकार’ कोठामा। यस पटकको ६ महिना राजधानी बसाइले राम्रै अनुभव गरायो।

कैयौं मोफसलबाट अवसर खोज्दै जानेको कथा–व्यथा असामान्य छ। भाडामा लिएका घरको उकुसमुकुसभित्र स्वतन्त्रताविहीन भएर बस्नुपर्ने बाध्यता। रुन चाहँदा दिल फुकाएर रुन नपाइने। हाँस्न मन लाग्दा दिल खोलेर हाँस्न नपाइने। नाच्न चाहेर संगीत घन्काएर नाच्न नपाइने। यो भिडको सहरमा कति उकुसमुकुस भएर बाँचेका छन् मानिसहरू।

कैयौं मानिस पीडामा दबिएर डिप्रेसनमा छन्। न स्वच्छ पिउने पानीकै राम्रो सुविधा छ। बल्लबल्ल हप्ता–दुई हप्तामा पानी आउँछ । त्यो पनि नल–ढल मिसिएर । बल्लतल्ल मेलम्चीको पानीले मुख देखाएको थियो । त्यही पनि यस वर्षको बाढीले मुहानै भत्काइदियो। अत्यधिक पानीको असुविधाले न राम्रोसँग नुहाउन पाइने। न राम्रो गरी कपडा धुन पाइने। न पिउने स्वच्छ पानी पाइने। पानीजस्तो अत्यावश्यक चिज पाउनमै वञ्चित हुनुपर्ने।

बाक्लो बस्तीभित्रको उकुसमुकुस सहर। न कतै खुला ठाउँ छ। न कतै खुल्ला पार्क छ। छन् त अग्लाअग्ला बिल्डिङ अनि कंक्रिटका घर। आँगनै मासेर घरमाथि घर बनेका छन्! भूकम्पको जोखिम मानिने काठमाडौंंमा धरहराजस्ता घर बन्ने क्रम बढ्दो छ। राज्यको न कुनै सहरको प्लानिङ छ। राजधानी कुरूप सहरमा परिणत भएको छ। बाटो हिँड्दा गाडी मोटरको भिड। जहाँ हिँड्यो ट्राफिक जामको सामना व्यहोर्नुपर्ने। समयमा निश्चित गन्तव्यमा पुग्न मुस्किल! गाडी–मोटरको धुवाँ र धुलोको प्रदूषणको अत्यधिक प्रभाव। प्रदूषणले अत्यधिक स्वास्थ्यमा हानी पुर्याइरहेको छ।

विकास र अवसर सहजताको लागि प्रदेश सरकार निर्माण गरियो। प्रदेश सरकार राज्यको ढुकुटी मास्ने माध्यम मात्र बन्यो। अझै अवसर खोज्न केन्द्रमै धाउनुपर्ने बाध्यता छ। त्यही कारण राजधानीमा मानिसको चाप बढेको बढ्यै छ।

प्रतिक्रिया दिनुहोस्