आइपिएल प्लेअफमा चौथो स्थानको दौड : चार टाेलीबीच प्रतिष्पर्धा, कसको सम्भावना कति ?

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा समूह चरणका ७ खेल मात्रै बाँकी छन्। यो अवस्थामा प्लेअफ पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। ती हुन्– चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर।

प्लेअफका लागि अब एक टोलीको टुंगो लाग्न मात्रै बाँकी छ। त्यसका लागि चार टोली प्रतिष्पर्धामा छन्। ती हुन्– कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स र मुम्बई इण्डियन्स।

कसको सम्भावना कति ?

प्लेअफको चौथो स्थानका लागि सबैभन्दा बढी सम्भावना भएको टोली हो, कोलकाता नाइट राइडर्स। प्लेअफका लागि प्रतिष्पर्धा गरिरहेका टोलीमध्ये उसकै सबैभन्दा बढी १२ अंक छ। उसको नेट रनरेट ०.२९४ छ।

जारी प्रतियोगिताका १३ खेल खेलिसकेको कोलकाताले अब समूह चरणको आफ्नो अन्तिम खेल आगामी बिहीबार राजस्थान रोयल्सविरुद्ध खेल्दैछ। उक्त खेल जितेमा कोलकाता प्लेअफमा पुग्ने सम्भावना बढ्नेछ।

प्लेअफका लागि प्रतिष्पर्धा गरिरहेको अर्काे टोली हो, पञ्जाब किंग्स। तर, उसलाई प्लेअफ पुग्न कठिन छ। जारी प्रतियोगिताको समूह चरणको एक खेल खेल्न बाँकी रहेको पञ्जाबलाई प्लेअफमा पुग्न खेल जितेर मात्रै पुग्दैन, फराकिलो अन्तरले जित्नुपर्नेछ। साथै कोलकाता राजस्थानविरुद्ध भारी मतान्तरमा पराजित हुनुपर्नेछ।

पञ्जाबको अंकतालिकामा १० अंक छ। उसको नेट रनरेट –०.२४१ छ।

राजस्थान रोयल्सको पनि प्लेअफमा पुग्ने सम्भावना छ। यसका लागि उसको समूह चरणका आफ्ना दुई खेल जित्नुपर्नेछ। उसले मुम्बई र कोलकाताविरुद्ध खेल्न बाँकी छ। आफ्ना बाँकी दुई खेल जितेको अवस्थामा यी दुवै टोली प्लेअफबाट बाहिरिने छन्।

प्लेअफका लागि प्रतिष्पर्धा गरिरहेका अन्य टोलीको समान १२ अंक भएको अवस्थामा पनि राजस्थानले प्लेअफमा स्थान बनाउन सक्छ। यदि त्यो अवस्थामा राजस्थान मुम्बईसँग १ रनले पराजित भए उसले कोलकातालाई ७५ रनको अन्तरले हराउनुपर्नेछ।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स प्लेअफमा पुग्न संघर्ष गरिरहेको चौथो तथा अन्तिम टोली हो। मुम्बईले अन्तिम चारमा स्थान बनाउन बाँकी दुई खेल दुई सय रनको अन्तरमा जित्नुपर्नेछ।

यो नतिजा नआएको अवस्थामा कोलकाताले राजस्थानलाई हराएमा ऊ नै प्लेअफ पुग्नेछ।

प्लेअफका लागि प्रतिष्पर्धा गरिरहेका सबै टोलीको तुलनामा मुम्बईको नेट रनरेट कम छ। १२ खेलबाट १० अंक हासिल गरेको मुम्बईको नेट रनरेट –०.४५३ छ।

क्रिकइन्फोडटकम

प्रतिक्रिया दिनुहोस्