बाँके–१ मा कांग्रेस सदस्यता विवाद : ‘चोर बाटो’बाट सदस्यता थप्न खोज्दा बल्झियो !

नेपालगन्ज : नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर १ का सचिव लक्ष्मण थारूले ‘चोर बाटो’बाट क्रियाशील सदस्यता थप्न खोज्दा विवाद बल्झिएको दाबी गरेका छन्।

क्षेत्रीय सभापति माधवराम खत्रीलाई क्रियाशील सदस्यता विवाद बल्झाएको आरोप लागेपछि सचिव थारूले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्।

उनले सदस्यता विवादबारे क्षेत्रीय सभापतिविरुद्ध सञ्चारमाध्यममा भ्रमपूर्ण र कपोलकल्पित अभिव्यक्ति दिएर अपवाह फैलाइएको आरोपसमेत लगाए। साथै उनले हारको मानसिकताबाट ग्रसित व्यक्तिले नै क्षेत्रीय सभापतिविरुद्ध अपवाह फैलाएको बताए।

‘पार्टीमा विधि र विधानविपरीत ‘चोर बाटो’बाट सदस्यता थप्न पाउनुपर्छ नत्र १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई आधार बनाएर अधिवेशन गर्नुपर्छ भन्ने व्यक्तिले नै अहिले अधिवेशन हुन नसक्नुको दोष सबै क्षेत्रीय सभापति खत्रीमाथि एकोहोरो लगाउँदा हामी आश्चर्यचकित भएका छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनले नवीकरण गरिएका क्रियाशील सदस्यता क्षेत्र हुँदै जिल्लामा पठाइनुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रदेश र पालिका तहबाट जिल्लामा पठाउँदा विवाद भएको बताए।

‘चोर बाटो’बाट आएका क्रियाशील सदस्यताका कारण समस्या उत्पन्न भएको जान्दाजान्दै पनि क्षेत्रीय सभापतिमाथि दोष थुपार्नु उचित नहुने उनकाे भनाइ छ।

उनले काठमाडौंमा भएको सहमतिलाई लत्याउँदै ‘चोर बाटो’बाट फेरि सदस्यता थप्न खोजिएपछि विवाद बल्झिएको बताए।

केही दिनअघि काठमाडौंमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी र जीवन परियारको रोहवरमा क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला सचिव तप्त पौडेल र पूर्ण आचार्यबीच क्रियाशील सदस्यता विवाद समाधान गर्ने सहमति भएको थियो।

क्रियाशील सदस्यता विवादका कारण बाँकेमा वडा अधिवेशन पनि हुन सकेको छैन। योसँगै देशभरका १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ।

कांग्रेसले आगामी मंसिर ९-१३ गते १४ औं महाधिवेशन गर्ने तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्