इपिएलमा चितवनको लगातार दोस्रो जित, अंकतालिकाको शीर्षमा

काठमाडौं : टि-ट्वान्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले लगातार दोस्रो जित हासिल गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघि उसले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो।

१४२ रनको लक्ष्य पछ्याएको चितवनले ८ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि राजेश पुलामीले सर्वाधिक २६ रन बनाए। यस्तै, दिलिप नाथ र कमल सिंह ऐरीले समान २३ रनको योगदान दिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । उसका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाएका थिए। यस्तै, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन जोडेका थिए।

चितवनका सागर ढकालले ४ विकेट लिएका थिए।

जितसँगै चितवन २ खेलबाट ४ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अंकतालिकाको दोस्रो स्थानमा भैरहवा ग्लाडियटर्स छ, उसको ३ अंक छ। भैरहवासँग समान अंक भए पनि रनरेटका आधारमा पोखरा राइनोज तेस्रो स्थानमा छ।

अंकतालिकाको चौथो स्थानमा रहेको काठमाडौं किंग्स ११ को २ अंक छ। यस्तै, विराटनगर वारियर्स र ललितपुर प्याटियर्स क्रमशः अंकतालिकाको पाचौं र छैटौं स्थानमा छन्। यी दुवै टोली अंकविहीन छन्।

प्रतियोगितामा सबै टोलीले समान २ खेल खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्