सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको भन्दै पाँच तत्कालीन गाविस सचिवविरुद्ध आरोपपत्र दायर

काठमाडौं : सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको रामपुर ठोक्सिलाका पाँच तत्कालीन गाविस सचिवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा, पुष्पराज सिग्देलविरुद्ध १६ लाख ४० हजार ५ सय रूपैयाँ बिगो असुलको मागदाबीसहित अदालतमा आरोपपत्र दायर गरेको हो।

तीमध्ये आचार्यविरुद्ध सबैभन्दा बढी ९ लाख ९० हजार ५ सय रूपैयाँ बिगो असुलको मागदाबी गरिएको छ। यस्तै, कार्कीविरुद्ध ७८ हजार, सुन्दासविरुद्ध ८२ हजार, खतिवडाविरुद्ध ३ लाख १४ हजार र सिग्देलविरुद्ध १ लाख ७६ हजार रूपैयाँ बिगोको मागदाबी गरिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले आर्थिक वर्ष ०६३/६४ देखि ०७१/७२ सम्म मृतक लाभग्राहीको नामबाट र दोहोरो नामको भरपाईबाट सामाजिक सुरक्षा भत्ताको रकम लिएर हिनामिना गरेको पाइएको अख्यितारले जनाएको छ।

अख्तियारले आरोपपत्र दायर गरेका तत्कालीन गाविस सचिवमध्ये सिग्देलले मात्रै अवकास पाएका छन्। अन्य चार जना सेवामै छन्।

प्रतिक्रिया दिनुहोस्