कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको क्रियाशील सदस्यको सूची पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ठाउँमा अब वडा अधिवेशन गर्ने बाटो खुलेको छ।

कांग्रेसले अझै ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउन सकेको छैन, जसमा प्रदेश २ का रौतहट, बारा, पर्सा र सप्तरी तथा बाग्मतीको रसुवा छन्। विवादका कारण यी जिल्लाको क्रियाशील सदस्यको विवरण पार्टीको वेबसाइटमा सार्वजनिक हुन सकेको छैन।

कांग्रेसले मंसिर ९–१३ गते १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्