लक्ष्मण ओझा
२०५८ जेठ १९। आजभन्दा ठ्याक्कै १९ वर्षअघि म कञ्चनपुरको तत्कालीन रैकवार बिचवा गाविस (कृष्णपुर नगरपालिका)को राजघाटस्थित मामाघरमा थिएँ। सधैंझैं बेलुका करिब १० बजे खाना खाएर मामा र म देशको राजनीतिक अवस्थाबारे गफ गर्दै थियौं। मामा देशको राजनीतिक अवस्थाबारे निकै चासो राख्नुहुन्थ्यो राख्नुहुन्छ। मलाई पनि यसबारे गफ गर्न खुबै रमाइलो लाग्थ्यो। त्यसमाथि मामासँग कुनै पनि विषयमा कुरा गर्न अथवा वादविवाद गर्न झन् रमाइलो लाग्थ्यो मलाई।
हामीबीच कुराकानी चलिरहेको थियो। रेडियो पनि घन्किरहेकै थियो। अचानक काठमाडौंबाट आएको अपत्यारिलो खबरले हामी दुवैको ध्यान अन्तै मोडियो। हाम्रो गफ रोकियो। संचारमाध्यमले राजा वीरेन्द्रको हत्या भएको आधिकारिक पुष्टि नगरे पनि खबर यथार्थ रहेको बाहिरी माहोलले बताइसकेको थियो।
सुरुमा त यो खबर सुन्दा पत्यार लागेन। तर, नपत्याउनुको विकल्प पनि थिएन किनकि काठमाडौंका अन्य मित्रले यसबारे सन्देह नगर्न भनिरहेका थिए। घटनाले मनका अनेक प्रकारका तरंग सृजना मात्र गरेन। र, निद्रादेवीको काखबाट ब्युझ्यायो। कल्पनासम्म नगरिएको घटना सुनेर मन विचलित भइरह्यो। आखिर राष्ट्रप्रमुख (राजा)को वंश नास हुँदा कसको मनले सहजै स्वीकार गर्ला र ? तर पनि अब यो यथार्थ थियो। मनले पत्याए पनि नपत्याए पनि।
मेरा लागि यो बिर्सनै नसकिने घटना हो। आम नेपालीले पनि यो घटना सायदै बिर्सन सक्लान् !
नियमित पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुती मारिए। यस्तै, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धिरेन्द्र शाहको हत्या भयो। राजपरिवारका केही सदस्य घाइते पनि भए।
घटनापछि तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्याकाण्ड गरेको प्रतिवेदन पेश गरेको थियो। दरबारसँग सम्बन्धित व्यक्तिले प्रकाशन गरेको पुस्तकमा पनि दीपेन्द्रले नै हत्याकाण्ड गरेको दाबी गरेका छन् । तर, आम नेपालीले यसलाई विश्वास गर्न सकिरहेका छैनन्।
तर, घटना भएको १९ वर्ष बितिसक्दा समेत यो अझै रहस्यको गर्भमा छ। सरकार यो रहस्य पत्ता लगाउन बेवास्ता गरिरहेको छ वा यो उसको वशमा छैन अथवा ऊ यसलाई रहस्य नै देखाएर कुनै अभिष्ट माथि खेल्दैछ ? बुझ्न सकिएको छैन।
प्रतिक्रिया दिनुहोस्