नाटक महोत्सवमा सुदूरपश्चिमको नाटक उत्कृष्ट

धनगढी : काठमाडौंमा सम्पन्न पहिलो एस.जी. राष्ट्रिय एकल नाटक महोत्सवमा सुदूरपश्चिमको नाटक उत्कृष्ट भएको छ। महोत्सवमा कैलालीको अत्तरियास्थित एभरेस्ट एकेडेमीले प्रस्तुत गरेको ‘तेरी खान्या कोरोना’ नाटकले उत्कृष्ट अवार्ड जितेकाे हो।

रंगकर्मी पुष्पराज अवस्थीले लेखन तथा निर्देशन गरेको उक्त नाटकमा एभरेस्ट एकेडेमीमा कक्षा १० मा अध्ययनरत हेमन्त भट्टले अभिनय गरेका थिए। नाटकमा कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीमा परेको असरबारे विषयवस्तु समावेश छ।

महोत्सवमा अन्य दुई नाटकले पनि उत्कृष्ट अवार्ड जितेकाे अवस्थीले जानकारी दिए।

गत भदौ २० गते सुरु भएको महोत्सवमा देशभरका करिब साढे दुई सय नाटक भर्चुअल विधिबाट मञ्चन गरिएको थियो। तीमध्ये ३० वटा नेपाली र १६ वटा अन्तर्राष्ट्रिय नाटक मञ्चनका लागि छनोट भएको अवस्थीले बताए।

महोत्सव स्वस्थीश्री गुरुकुलले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्