एनआरएनएको अध्यक्षमा कूल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)काे अध्यक्ष पदमा कूल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

उनले आज (आइतबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गरी औपचारिकरूपमा एनआरएनएकाे अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। कार्यक्रममा उनले एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।

‘संस्थाका संस्थापक र अग्रजको साथ, विश्वभर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु’, उनले भने, ‘विश्वभरी रहनुभएका तपाई सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु। र, मैले संकल्प गरेको छु कि तपाईं हामी सबैको गैर आवासीय नेपालीहरुको पवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु।’

एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टुवर २३–२५ मा काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्