ठेक्का सम्झौता भएको १४ महिनापछि चौमाला खोलाको पुल सिलान्यास

धनगढी : ठेक्का सम्झौता भएको १४ महिनापछि कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला खोलाको पुल सिलान्यास गरिएको छ।

गौरीगंगा नगरपालिका वडा नम्बर १ र २ जोड्ने उक्त पुलको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले सिलान्यास गरे।

नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले फुटाएको आरोपसमेत लगाए। साथै उनले चौमाला खोलामाथिको पुल निर्माणले गौरीगंगा नगरपालिका वडा नम्बर २ पुरानो बजारको स्वरुप फेरिनेसमेत बताए।

पूर्वाधार विकास कार्यालय, कैलालीले गत २०७७ असार ३१ गते वाई पी कन्स्ट्रक्सन प्रालि, ललितपुरसँग निर्माण सम्झौता गरेको थियो। ६० मिटर लम्बाई रहने उक्त पुलको ठेक्का सम्झौता ७२ करोड ३८ लाख ८ हजार ४२ रूपैयाँ १ पैसामा गरिएको पूर्वाधार विकास कार्यालय, कैलालीले जनाएको छ।

पुलको निर्माण २०८० असार ३१ गते सक्ने लक्ष्य राखिएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख श्याम खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य खड्क बम, नेपाली कांग्रेसका क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशी, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य नवीन धामी, नेकपा एमालेका जिल्ला सदस्य मदन ओझा, गौरीगंगा नगरपालिका नगर प्रमुख भीमबहादुर देउवा, वडा नम्बर २ का वडाअध्यक्ष जनक साउद लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्