रूपा सुनारमाथि जातीय विभेद मुद्दा : अदालतले घरबेटी प्रधानलाई दियाे धरौटी तिर्न आदेश

काठमाडौं : तनहुँकी रूपा सुनारमाथि जातीय विभेद भएको ठहर गर्दै जिल्ला अदालत, काठमाडौंले बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई धरौटी तिर्न आदेश दिएको अदालतले जनाएको छ।

गत असार १ गते भाडामा बस्नका लागि प्रधानको घरको कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन्।

त्यसपछि आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

तर, तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रधानलाई लिन प्रहरी कार्यालय पुगेका थिए। त्यसपछि हिरासतमुक्त भएकी प्रधानलाई तत्कालीन शिक्षामन्त्री श्रेष्ठले सरकारी गाडीमा राखेर उनकाे घर पुर्याइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्