ओमानलाई हराएपछि अंकतालिकाकाे चौथो स्थानमा उक्लियाे नेपाल

काठमाडौं : विश्वकप क्रिकेट लिग २ को अंकतालिकामा नेपाल चौथो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो अन्तिम खेलमा ओमानलाई हराएपछि नेपालले अंकतालिकामा दुई स्थान सुधार गरेको हो। नेपालले ८ खेलबाट ८ अंक बटुलेको छ। यसअघि नेपाल ६ अंकसहित अंकतालिकाको छैटौं स्थानमा थियो।

अंकतालिकाको शीर्ष स्थानमा ओमान छ। उसले १३ खेल खेलेर २० अंक बटुलेको छ। अंकतालिकाको दोस्रोमा अमेरिका र तेस्रोमा स्कटल्याण्ड छ। अमेरिकाको १४ तथा स्कटल्याण्डको ९ अंक छ।

यस्तै, युएई, नामिबिया र पपुवा न्युगिनी अंकतालिकामा क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन्। युएईको ८ र नामिबियाको ७ अंक छ भने पपुवा न्युगिनी अंकविहीन छ।

ओमानमा जारी शृंखलाका ४ खेलमध्ये नेपालले २ खेलमा जित हासिल गर्दा समान खेलमै पराजित भएको छ।

जारी शृंखलाअन्तर्गतको अन्तिम खेल भोलि ओमान र अमेरिकाबीच हुँदैछ।

प्रतिक्रिया दिनुहोस्