एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

काठमाडौं : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानमाथि ऐतिहासिक जित हासिल गरेको छ।

विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानमाथि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हासिल गरेको हो।

यसअघि काठमाडौंमा आयोजित त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गतका दुई खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। यस्तै, जारी शृंखलाको आफ्नो दोस्रो खेलमा पनि ओमानले नेपाललाई स्तब्ध बनाएको थियो।

आजको खेलमा १ सय २२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ओमानमाथि ७ विकेटको जित निकाल्यो। उक्त लक्ष्य नेपालले १८.२ ओभरमै ३ विकेट गुमाएर पूरा गर्याे।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहँदै ५२ रन बनाए। एकदिवसीय क्रिकेटमा मल्लको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले अमेरिकाविरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए। यस्तै, आरिफ शेखले ४० रन बनाए।

ओमानका नेस्टर धम्बाले २ र कालीमुल्लाहले १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अलआउट भएकाे थियाे।

ओमानलाई कम रनमा रोक्न सन्दीप लामिछाने र करन केसीको उत्कृष्ट बलिङ गरे। सन्दीप र करनले समान चार विकेट चट्काए। यस्तै, अलराउन्डर शरद भेषवाकरले दुई विकेट लिए।

ओमानका तर्फबाट कप्तान जीशन मक्सुदले सर्वाधिक ४१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

जारी शृंखलाका ४ खेलमध्ये नेपालले २ मा जित हासिल गरेको छ भने समान खेलमा पराजित भएको छ। नेपालले जारी शृंखलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। त्यसपछि आफ्नो दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले हारेको थियो।

जारी शृंखलाअन्तर्गतको अन्तिम खेल भोलि ओमान र अमेरिकाबीच हुँदैछ।

प्रतिक्रिया दिनुहोस्