बैंकबाट ५० हजार झिकेपछि बेपत्ता युवक ४१ दिनसम्म पनि भेटिएनन्

नेपालगन्ज : बाँके, शान्तिनगरमा बस्दै आएका जुम्ला, चन्दननाथ नगरपालिका–१०, का १८ वर्षीय मनोज महत गत साउन २२ गतेसम्म परिवारको सम्पर्कमा थिए। परिवारको सदस्यका अनुसार उक्त दिन मनोजले कलेज शुल्क तिर्न भन्दै आफ्नै बैंकखाताबाट ५० हजार रूपैयाँ झिकेका थिए।

तर, त्यसको भोलिपल्ट (साउन २३) देखि उनी परिवारसँग सम्पर्कविहीन भए। नेपालगन्जस्थित कलेज अफ अलाइड साइन्समा अध्ययनरत मनोज बेपत्ता भएको ४१ दिन पुगिसकेको छ।

मनोजले साउन २२ गते बैंकको एटिएमबाट रकम झिकेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीलाई उध्दृत गर्दै परिवारको सदस्यले बताएका छन्।

मनोजको अपहरण पैसाका लागि भएको कतिपयको आशंका छ। तर, उनका बुबाआमा अहिलेसम्म फिरौतीका लागि फोन नआएको बताउँछन्।

छोराले कलेज शुल्क तिर्न रकम मागेपछि ५० हजार रूपैयाँ पठाइदिएको उनीहरूले बताए।

मनोजको मोबाइल ट्रयाक गर्दा बुटवलको सैनामैना नगरपालिकामा मोबाइल स्विच अफ भएको पाइएको प्रहरीलाई उध्दृत गर्दै परिवारका सदस्यले बताएका छन्।

मनोजकी आन्टी आशा शाहीले भतिजोलाई कसैले देखेमा ९८४८०२०९४५ मा सम्पर्क गरिदिन आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्