कांग्रेस महाधिवेशन : थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

काठमाडौं : नेपाली कांग्रेसले वडा अधिवेशन सुरु नगरेका २१ जिल्लामध्ये ८ वटामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेको छ।

कांग्रेसले वडा अधिवेशन सुरु नगरेका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्साको क्रियाशील सदस्यता विवाद समाधान गरेको हो।

ती जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पठाइएको कांग्रेसले जनाएको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले थप ८ जिल्लाको क्रियाशील सदस्यको नामावली समितिमा आएको जानकारी दिए। उनले उक्त नामावली पार्टीको वेबसाइटबाट सार्वजनिक हुने सम्भावना रहेको बताए।

कांग्रेसले ५६ जिल्लाका वडामा अधिवेशन गरिसकेको छ। बाँकी जिल्लाका वडामा असोज ५ गते वडा अधिवेशन गरिने कांग्रेसले जनाएको छ।

कांग्रेसले यसअघि भदौ १८ मा देशभरका सबै वडामा एकै दिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण गर्न सकेको थिएन।

कांग्रेसले असोज ९ गते पालिका तहमा अधिवेशन गर्दैछ। कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्